माइक्रोसफ्ट अज्योरको आधारभूत ज्ञान नेपालीमा – माइक्रोसफ्ट अज्योर को परिचय


पहिले को लेखमा हामीले क्लाउड कम्प्युटिंगको बारेमा केहि जानकारी हासिल गर्न सफल भयौँ। यस लेखमा हामी अज्योर को बारेमा सिक्ने छौं। अज्योर भनेको माइक्रोसफ्टको क्लाउड प्ल्याटफर्म हो। यो निजी र सार्वजनिक दुवै किसिमले चलाउन सकिन्छ। अज्योरले आफ्नो ग्राहकलाई सयौं विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ।

कसरी काम गर्छ त अज्योर?

माइक्रोसफ्ट अज्योर ले भर्चुवलाइजेसन भन्ने प्रविधिको प्रयोग गर्छ। यस भर्चुवलाइजेसन प्रविधिले हार्डवेयर र अपरेटिंग सिस्टम को संगमलाई छुटाउन एक तह बनाइदिन्छ जसको नाम हो हाइपरभाइसर। हाइपरभाइसरले कम्प्युटरले गर्न सक्ने सबै कार्य नक्कल गर्न सक्छ। यसले सिपियु र भर्चुवल मेशिनको पनि नक्कल गर्न सक्छ। एकैचोटीमा धेरै भर्चुवल मेशिन चलाउन सक्ने यसको क्षमता हुन्छ। यी थुप्रै भर्चुवल मशिनहरुले विन्डोज, लिनक्सजस्ता फरक फरक ओ।एस। चलाउन सक्छन। अज्योरले यहि प्रविधिलाई लिन्छ र यसलाई अतिनै ठुलो स्तरमा दोहोर्याउँछ। यसका लागि माइक्रोसफ्टले आफ्नो संसारभरी भएको डाटा सेन्टरहरुको प्रयोग गर्छ।

cloud computing

डाटा सेन्टर भनेको यस्तो ठाउँ हो जहाँ ठुला ठुला कम्प्युटरीय उपकरणहरु हुन्छन। हरेक डाटा सेन्टरमा हजारौँ र्याकहरु हुन्छन जसमा सर्भरहरु राखिएका हुन्छन। हेरक सर्भरमा हाइपरभाइसर हुन्छ जसले एकैचोटीमा धेरै भर्चुवल मेशिनहरु चलाउन सक्छ। त्यहाँ नेटवर्क स्वीचपनि हुन्छ जसले सबै सर्भरहरुलाई जोड्ने काम गर्छ। हरेक र्याकमा एउटा विशेष सफ्टवेर हुन्छ जसको नाम फ्याब्रिक कन्ट्रोलर हो। यस फ्याब्रिक कन्ट्रोलर फेरी अर्को विशेष सफ्टवेर संग जोडिएको हुन्छ जसको नाम हो अर्केसट्रेटर। अर्केसट्रेटरले अज्योरमा हुने ग्राहकको रिक्वेस्ट देखि लिएर सबै कामहरुको प्रबन्ध मिलाउने गर्छ। ग्राहकले अज्योरमा रिक्वेस्ट पठाउनका लागी अज्योरको वेबसाइटको प्रयोग गर्नु पर्छ। अज्योरको वेबसाइटलाई अज्योर पोर्टल पनि भन्ने गरिन्छ। ग्राहकले अज्योर पोर्टलबाट रिक्वेस्ट गर्नासाथ् अर्केसट्रेटरले ग्राहकलाई चाहिएको नतिजा दिन्छ। यी शब्दहरु सुन्दा गार्हो लागेपनि निकै सरल छन्। तलको चित्रले माथि दिइएका अज्योरको अङ्गहरुको एक आपसमा रहेको समन्वय राम्रोसंग बुझ्न सकिन्छ।

 

अज्योरले काम गर्ने शैली बुज्नका लागि हामीले एक उदाहरण लिन सकिन्छ। मानौं कुनै ग्राहकले अज्योर पोर्टलमा लग इन गर्यो र एउटा भर्चुवल मेशिन बनाउने रिक्वेस्ट दियो। अज्योर पोर्टलले यो रिक्वेस्ट आफ्नो सिस्टमबाट अर्केसट्रेटर सम्म पुर्याउँछ। अर्केसट्रेटरले सबैलाई एउटा प्याकेज बनाएर फ्याब्रिक कन्ट्रोलर सम्म पुर्याउँछ र सर्भरले भर्चुवल मेशिन बनाइदिन्छ। तब मात्र ग्राहकले त्यस भर्चुवल मशिन चलाउन पाउँछ। यो अज्योर काम गर्ने आधारभूत प्रक्रिया हो र प्रतिदिन करोडौं रिक्वेस्ट आउने अज्योरले आफ्नो डाटा सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा दिंदै आएको छ जसले गर्दा अज्योरलाई सबैभन्दा ठुलो र राम्रो क्लाउड बिक्रेता भनिने गरिन्छ।

अज्योर बाट के गर्न सकिन्छ त?

अज्योरले आफ्ना ग्राहकलाई सयौं प्रकारका सेवाहरु दिने गर्छ। भर्चुवल मेशिन बनाउनेदेखी लिएर बुद्धिमान बटहरु र मिक्स्ड रियालिटीको प्रयोग र अध्ययन पनि गर्न सकिन्छ। भर्चुवल मेशिन बनाउने ठाउँ मात्र नभएर अज्योरलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ। हाम्रा प्रोजेक्टहरुलाई चाहिने ए.आइ.(कृत्रिम बौद्दीकता) र मेशिन लर्निंग पनि अज्योरको मार्फत हामीले उपयोग गर्न सक्छौं। अज्योरले आफ्नो ग्राहकहरुलाई उनीहरुका ग्राहकसंग राम्रोसंग सम्पर्क गर्नकालागि संज्ञानात्मक सेवा (कग्निटिभ सर्भिस) पनि दिने गरेको छ। संज्ञानात्मक सेवाहरुमा कम्प्युटर भिजन, भाषा बुझाई (लुइस), स्पीच रिकग्निशन, अक्षर देखि भाषण रुपान्तरण, आदि। यति मात्र नभएर अज्योरमा थुप्रै अरु क्षेत्रहरु र सेवाहरु प्रयोग गर्न सकिन्छ। यी सेवाहरु आउने लेखहरुमा छलफल गरिने छ।

विद्यार्थीका लागि अज्योर:

कुनै पनि विद्यार्थीले यदि क्लाउड कम्प्युटिंग सिक्न चाहन्छ भने सुरु गर्ने सबैभन्दा राम्रो प्लेटफर्म अज्योर नै हुन्छ। माइक्रोसफ्टले विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिंग सिक्नका लागि १०० अमेरिकी डलर बराबरको अज्योर क्रेडिट १२ महिनाका लागी सित्तैमा दिने गरेको छ। यस क्रेडिट को प्रयोग गरेर हामीले अज्योर सिक्न र सेवाहरु प्रयोग गर्न सकिन्छ। यस सुविधाको लाभ उठाउन कुनै क्रेडिट कार्डको आवस्यकता पर्दैन। आफु विद्यार्थी भएको प्रमाणित गरेमात्र पुग्छ। यस अफर अन्तर्गत विद्यार्थीहरुले अज्योर एप सर्भिस, अज्योर फंक्सन, नोटिफिकेशन हब, माइ एस. क्यु. एल. डाटाबेस, डेभप्स जस्ता सेवा उपयोग गर्न सक्छन। यसले विद्यार्थीहरुलाई एप बनाउन र डीप्लए गर्न सजिलो बनाइदिन्छ। केहि मिनटमै आफुले रोजेको टेक्नोलोजी: जाभा, पी.एच.पी., नोड जे.एस., पाइथन, ए.एस.पी. डटनेट, आदिमा काम गरि वेब एप डीप्लए गर्न सकिन्छ। साथै, आफ्नो प्रोग्राममा विद्यार्थीहरुले सर्भररहित फंक्सनहरु लेख्न सक्छन जसमा पूर्वाधारको चिन्ता लिनु पर्दैन।

अज्योरले डाईग्नोस्टिक फिचर दिन्छ जसले हाम्रो वेब एपहरु आफ्नो पूर्ण क्षमतामा चल्न सक्छन। समूहमा काम गर्नका लागि अज्योर डेभप्स उत्कृष्ट प्लेटफर्म हुन सक्छ। विद्यार्थीहरुले आफुले पाएको सुविधा अन्तर्गतको क्रेडिटबाट आफ्नो प्रयोग योजनाबद्ध रुपमा गर्न सक्छन र सेवाहरुको पूर्ण लाभ उठाउन सक्छन। यी कारणहरुले गर्दा अज्योर क्लाउड कम्प्युटिंग सिक्न चाहने विद्यार्थीहरुको लागि सर्वोत्तम रोजाई हुन सक्छ।

अज्योरको विद्यार्थीले पाउने सेवा सुचारु गर्न का लागि तलको लिंक मा जानुहोस:

https://azure.microsoft.com/en-us/free/students/





Source link

WP Twitter Auto Publish Powered By : XYZScripts.com
Exit mobile version